पाकिस्तानको अर्को छलाङ, अष्ट्रेलियापछि न्यूजील्यान्डविरुद्ध पनि क्लिन स्विप
Posted on: Nov 05, 2018

२०७५ कार्तिक १९ गते 
क्रिकेटमा एकपछि अर्को समस्याले गुज्रिएको देश पाकिस्तानले पछिल्ला दिनहरुमा भने एकपछि अर्को छलाङ मारेको छ । पाकिस्तानले न्यूजील्यान्डविरद्धको टी–ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ ।
आइतबार राति सम्पन्न अन्तिम तथा तेस्रो खेलमा न्यूजील्यान्डलाई ४७ रनले पराजित गर्दै पाकिस्तानले तीन खेलको सिरिज क्लिन स्विप गरेको हो । केही दिनअघि मात्रै अष्ट्रेलियाविरुद्धको सिरिज क्लिन स्विप गरेको पाकिस्तानका लागि यो फेरीको अर्को ठूलो उपलब्धि हो ।युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाकिस्तानले दिएको १६७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्यूजील्यान्डले १६।५ ओभरमा सबै विकेटको क्षतिमा ११९ रन मात्रै बनाउन सक्यो ।

न्यूजील्यान्डका लागि कप्तान केन विलियम्सनले ६० रनको विष्फोटक ब्याटिङ गरेपनि आफ्नो टिमलाई जिताउन सकेनन् । उनले ३८ बलको सामाना गर्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै, ग्लेन फिलिप्सले २६ रन बनाएपनि न्यूजील्यान्डका लागि अन्य कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन् ।बलिङतर्फ पाकिस्तानका शादब खानले ३ विकेट लिए । त्यस्तै, इमाद वासिम र वाकस माक्सोदले समान २–२ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर अजामले उत्कृष्ट प्रदर्शन गर्दै ७९ रन बनाए । त्यस्तै, मोहम्मद हफिजले अविजित ५३ रन बनाएका थिए ।
यसअघिको पहिलो खेलमा पाकिस्तानले न्यूजील्यान्डलाई २ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा पाकिस्तानले न्यूजील्यान्डमाथि ६ विकेटको जित निकालेको थियो ।

अनलाइनखबर

Comments